काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला राष्ट्रिय परियोजनाको लागि बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन्। प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद प्रतिमा गौतमले सोधेको प्रश्नको जवाफ दिँदै सिक्टा सिंचाइ र बबई सिंचाइ आयोजना लगायतका राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका ठूला आयोजनाहरू समयमा सम्पन्न गर्ने विषयमा गम्भीर र संवेदनशील रहेको जानकारी दिए।
‘सिक्टा सिंचाइ र बबई सिंचाइ आयोजना लगायतका राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका ठूला आयोजनाहरू समयमा सम्पन्न गर्ने विषयमा म पनि गम्भिर र संवेदनशील छु। मेरो सरकार गठन भएपछि यी आयोजनाहरू समयमै सम्पन्न गर्न तथा निर्माण व्यवसायीको भुक्तानीको समस्या समाधान गर्न मैले सुरु देखि नै पहल गरिरहेको छु। आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा भुक्तानी गर्न बाँकी रहेको दायित्वमध्ये हालसम्म रु. २२ अर्ब ४३ करोड ३६ लाख भुक्तानी भईसकेको छ।’ उनले भने, ‘यसै सन्दर्भमा ठूला राष्ट्रिय परियोजनाको लागि स्रोतको समस्या आउन नदिन सम्बन्धित मन्त्रालयलाई बजेट तर्जुमाको लागि प्रदान गरिएको बजेट सिलिङबाट त्यस्ता आयोजनाका लागि सो आर्थिक वर्षमा आवश्यक पर्ने रकम विनियोजन गरी इयरमार्क गरेपछि मात्र अन्य आयोजना तथा कार्यक्रममा बजेट छुट्ट्याउने गरी नीतिगत प्रबन्ध गरिएको छ।’


