नेपालमा बसेर अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा पक्राउ परेका २३ जना भारतीय नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले मंगलबार पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गरेको हो ।
आइतबार राति करिब १ बजे बुढानीलकण्ठ नगरपालिका(३ स्थित दुई तले घरमा छापा मारेर उनीहरूलाई पक्राउ गरिएको थियो । प्रारम्भिक अनुसन्धानमा उनीहरूले अनलाइनमार्फत तीन अर्ब १३ करोडभन्दा बढीको कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनीहरू बस्ने घर दिनभर बन्द रहने र राति मात्र खोल्ने गरिएको थियो ।

