नेपाल–भारत संयुक्त कार्यदल बैठक : अन्तरदेशीय प्रसारण लाइन अध्ययन र निर्माण मोडालिटीको टुंगो लगाइने


नेपाल–भारत संयुक्त कार्यदल बैठक : अन्तरदेशीय प्रसारण लाइन अध्ययन र निर्माण मोडालिटीको टुंगो लगाइने

काठमाडौं । नेपाल र भारतबीच हालै सम्पन्न ऊर्जा सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठकमा भएका सहमतिलाई अन्तिम टुंगोमा पुर्‍याउन सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक नयाँ दिल्लीमा मंगलवार हुँदै छ । माघ ९ गते नयाँ दिल्लीमै भएको सहसचिवस्तरीय बैठकमा हाल अध्ययनको चरणमा रहेका प्रस्तावित दुईओटा ४०० केभीका इनरुवा–पूर्णिया र दोधारा–बरेली प्रसारण लाइनको लगानी मोडालिटीमा सहमति जुटेको थियो । 

साथै, दुवै देश तीनओटा नयाँ अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि अध्ययन गर्न सहमत भएका थिए । सरकारी अधिकारीहरूका अनुसार उक्त बैठकमा ४०० केभीका २ अन्तरदेशीय प्रसारण लाइन— निजगढ (बारा)–मोतिहारी (विहार) र कोहलपुर (बाँके)–लखनउ (उत्तरप्रदेश) बनाउने र २२० केभीको चमेलिया–जौलजीबी (उत्तराखण्ड) अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि अध्ययन गर्ने समझदारी बनेको थियो । विगतमा सहसचिवस्तरीय र सचिवस्तरीय बैठक अघिल्लो र पछिल्लो दिन एकै समयमा हुने गरे पनि यसपल्ट दुई फरक–फरक समयमा हुन लागेको हो । बैठकमा सहभागी हुन ऊर्जासचिव सुरेश आचार्यसहितको टोली सोमवार नै नयाँ दिल्ली पुगिसकेको छ ।

Read More