काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वनभित्र रहेका काठहरू लिलाम गर्नको लागि कार्ययोजना बनाउन प्रदेश मन्त्रालयलाई आवश्यक निर्देशन दिइएको बताएका छन् । सोमवार प्रतिनिधि सभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री ठकुरीले वनभित्र रहेका काठहरू बजारमा ल्याउँदै उपभोक्तालाई सहज रूपमा उपलब्ध हुनेगरी प्रदेश मन्त्रालयहरुले काम गरिरहेको दाबी गरेका हुन् ।
उनले वनभित्रको काठहरूको दिगोपन व्यवस्थापन गरी काठको आयातलाई निरुत्साहित गर्ने गरी काम गरिरहेको बताए । उनले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि समेत आवश्यक गृहकार्य भइरहेको बताए । उनले कार्बन व्यापार गर्नको लागि नियमावली संशोधन अन्तिम मस्यौदा तयारी अवस्थामा रहेको समेत बताए । उनले कार्बन व्यापारको लागि निजी क्षेत्रसँग आवश्यक समन्वय र सहकार्य गरिने उल्लेख गरे । उनले सामुदायिक वनको संरक्षणका लागि वन उपभोक्ता समूहहरूलाई आवश्यक सहयोग गरिरहेको समेत बताए ।


