काठमाडौं : ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा १० करोड ६५ लाख २९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (माघ २७ गते) साँझ ५ः०६ बजेसम्म ४१ हजार २३८ जनाले १० लाख ६५ हजार २९० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ५.९१ गुणा बढी आवेदन हो ।
कम्पनीले माघ २१ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले १ लाख ८० हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको लागि आइपीओ जारी गरेको हो ।





