उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्षको बजेटको अर्धवार्षिक प्रगतिको नतिजा मिश्रित रहेको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा ‘आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन’ पेस गर्दै भू–राजनीतिक तनाव तथा अन्य अन्तर्राष्ट्रिय कारणले मूल्यश्रृङ्खला प्रभावित भएको, अपेक्षित रुपमा कर्जा विस्तार हुन नसकेको, निर्माण क्षेत्रमा सुधार आउन नसकेकाले आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने चुनौती देखिएको उनले बताएका हुन् ।
उपप्रधानमन्त्री पौडेलले भने, “यद्यपि, सरकारले अवलम्बन गरेको नीतिगत व्यवस्था तथा सुधारका प्रयासका साथै बाह्य क्षेत्रको सन्तुलन, तरलताको पर्याप्तता तथा न्यून ब्याजदरको सुनिश्चितताले आर्थिक गतिविधि वृद्धि भई यसवर्षको आर्थिक वृद्धिदर लक्ष्यको नजिक हुने अपेक्षा गरिएको छ ।” उनले सार्वजनिक वित्त व्यवस्थापन प्रणालीमा निरन्तर सुधारको प्रयास, अन्तर्राष्ट्रिय मापदण्डअनुरुप लेखाङ्कन तथा प्रतिवेदन प्रणाली कार्यान्वयनमा रहेकाले वित्त प्रणालीको पारदर्शीता र विश्वसनीयता बढेको बताए ।

