ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म पुग्न निर्माण हुन लागेको पाथीभरा केबलकार हाल चर्चाको विषय बनेको छ। केबलकार निर्माणले मन्दिरको ऐतिहासिकता र पहिचान गुम्ने भन्दै सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन्। तर, आयोजनाले भने केबलकारले स्थानीय अर्थतन्त्र, पर्यटन प्रवर्द्धन र नागरिकको जीवनस्तरमा सुधार ल्याउने दाबी गरेको छ।
चार दशकअघि उठेको केबलकार निर्माणको विषय
पाथीभरा केबलकारको प्रस्ताव चार दशकअघि उठे पनि २०७२ मा मात्रै पाथीभरा देवी दर्शन केवलकार प्रालि को स्थापना भएको थियो। २०७५ मा नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयअनुसार यस आयोजनाले केबलकार निर्माणको अनुमति पाएको थियो।
करिब दुई वर्षअघि आइएमई समूह को प्रवेशसँगै परियोजना अघि बढ्न थालेको हो। नेपाल सरकारबाट आवश्यक सबै अनुमतिहरू प्राप्त गरेपछि यस आयोजनालाई राष्ट्रिय प्राथमिकताको योजना अन्तर्गत समावेश गरिएको छ। केबलकारका लागि आवश्यक जग्गा प्राप्त गरिसकिएको र नेपाल सरकारलाई सट्टा भर्ना जग्गा हस्तान्तरण गर्ने प्रक्रिया सम्पन्न भइसकेको छ।
केबलकारको संरचना र स्थानीय अर्थतन्त्रमा प्रभाव
फुङलिङ नगरपालिका–११, काफ्लेपाटीदेखि मन्दिर परिसरभन्दा करिब ७०० मिटर पश्चिमसम्म २.७५ किलोमिटर लामो केबलकार निर्माण गरिँदैछ। यसमा ३६ वटा यात्रुवाहक गोन्डोला र २ वटा सामान ओसारपसार गर्ने गोन्डोला रहनेछन्। तल्लो स्टेसनबाट माथिल्लो स्टेसनसम्म यात्रुहरू १० मिनेट ३१ सेकेन्डमा पुग्न सक्नेछन्।
परियोजनाले स्थानीय अर्थतन्त्रमा उल्लेखनीय प्रभाव पार्ने बताइएको छ। अनुमानित ३ अर्ब रुपैयाँ लागत रहेको केबलकारले ३०० जनालाई प्रत्यक्ष रोजगारी दिनेछ, जसमा ८० प्रतिशत स्थानीय लाई प्राथमिकता दिइनेछ। साथै, स्थानीयले आयोजनामा शेयर तथा लगानीको अवसर पाउनेछन्।
केबलकार निर्माणपछि ताप्लेजुङका कृषि उत्पादन, घरेलु तथा हस्तकला सामग्रीको माग बढ्ने, होटल तथा रेस्टुरेन्ट व्यवसाय फस्टाउने, यातायात क्षेत्रसमेत विस्तार हुने अपेक्षा गरिएको छ। मेची हाइवे र तमोर कोरिडर आसपासको क्षेत्रमा व्यवसाय तथा स्वरोजगार को अवसर वृद्धि हुने बताइएको छ।
केबलकार निर्माणबारे उठेका आशंका
पाथीभरा केबलकारको निर्माण सुरु भएसँगै केही व्यक्तिहरूले मन्दिरको मौलिकता तथा पर्यावरणीय सन्तुलन गुम्ने भन्दै विरोध जनाइरहेका छन्। तर, आयोजनाले भने वातावरण संरक्षणलाई विशेष ध्यान दिइएको बताएको छ। एक काटिने रुख बराबर २५ वटा नयाँ वृक्षारोपण गरी पाँच वर्षसम्म हेरचाह गर्ने नीति लिइएको छ।
केबलकार निर्माणले मन्दिर परिसरको धार्मिक तथा सांस्कृतिक संरचनामा कुनै असर नपर्ने आयोजक पक्षको दाबी छ। स्थानीयलाई रोजगारी दिने, पर्यटन प्रवर्द्धन गर्ने र यात्रा सहज बनाउने उद्देश्यले परियोजना अघि बढाइएको बताइएको छ।
निजी लगानी निरुत्साहित गर्ने प्रयासप्रति आपत्ति
परियोजना अगाडि बढेपछि सामाजिक सञ्जालमा निजी लगानीप्रति नकारात्मक प्रतिक्रिया आएको भन्दै आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल ले आपत्ति जनाएका छन्। उनले निजी क्षेत्रले लगानी गर्ने वातावरणलाई विगार्न खोज्नु राष्ट्रको समृद्धि का लागि नकारात्मक सन्देश भएको बताए।
"हामीले स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, व्यवसायी, प्रशासनलगायत सरोकारवालासँग छलफल गरी सहमति लिएका छौँ। बाहिरबाट आएर आयोजना रोक्न खोज्नु उचित होइन। यस्तो प्रवृत्तिले भविष्यमा हुने निजी लगानीलाई निरुत्साहित गर्नेछ," ढकालले भने।
उनका अनुसार पैसा तिर्न सक्ने तीर्थयात्री हेलिकप्टर चार्टर गरेर जान सक्छन्, तर सर्वसाधारणका लागि सहज पहुँचको विकल्प केबलकार मात्रै हो।
"केबलकार यातायातको साधन मात्र हो"
अध्यक्ष ढकालले केबलकारले धार्मिक तथा सांस्कृतिक मूल्यलाई असर नगर्ने बताए। "पाथीभरा देवी सम्पूर्ण नेपालीको आस्थाको केन्द्र हो। केबलकारले यात्रा मात्र सहज बनाउने हो, मन्दिरको गरिमा तथा ऐतिहासिक पहिचान जोगाउन हामी प्रतिवद्ध छौँ," उनले भने।
केबलकार निर्माण सम्पन्न भएमा पाथीभरा पुग्न चाहने तीर्थयात्रीहरूको संख्या ३–४ गुणाले वृद्धि हुने अपेक्षा गरिएको छ। यसले स्थानीय रोजगारी, पर्यटन प्रवर्द्धन तथा समग्र आर्थिक गतिविधिलाई टेवा पुर्याउने दाबी गरिएको छ।


