बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकमा राख्ने रकम क्रमशः घट्दै गएको छ।
बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी गरेर बचेको रकम राष्ट्र बैंकमा राख्छन्। अहिले यसरी राखिने रकम कम हुँदै गएको देखिएको हो। यसले बैंकहरूको कर्जा प्रवाह बिस्तारै बढ्दै गएको संकेत गर्छ।
बैंकहरूले कर्जा लगानी गर्न नसक्दा राष्ट्र बैंकमा यसरी राखिने रकम बढ्दै जान्छ। जति कर्जा लगानी बढाउन सक्छन् त्यति नै कम रकम राख्छन्।
बैंकहरूले आफूसँग भएको सबै रकम कर्जा लगानी गर्न पाउँदैनन्। निक्षेप झिक्न आउने सर्वसाधारण लगायतलाई दिनुपर्ने भुक्तानी नरोकियोस् भनेर निक्षेप संकलन, चुक्ता पुँजी लगायत रकमको कम्तीमा २० प्रतिशत तरल सम्पत्तिको रूपमा राख्छन्। जतिबेला चाहिन्छ त्यो बेला झिक्न सकियोस् भनेर बैंकहरूले यस्तो सम्पत्तिको रूपमा राखेका हुन्छन्।


