नेप्से प्रमुखको पदावधि आउँदो शुक्रबार सकिँदै, अहिलेदेखि नै दक्ष व्यक्ति नियुक्त गर्न सरकारसँग माग


नेप्से प्रमुखको पदावधि आउँदो शुक्रबार सकिँदै, अहिलेदेखि नै दक्ष व्यक्ति नियुक्त गर्न सरकारसँग माग

नेपाल स्टक एक्सचेन्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीको पदावधि यही शुक्रबारबाट सकिँदैछ। उनी तीन वर्षको कार्यकाल सकाएर नेप्सेबाट बिदा हुँदैछन्।

उनको कार्यकालमा नेप्सेले कुनै नयाँ काम गर्न सकेन। कार्कीले सधैका लागि याद रहने गरी कुनै पनि काम गर्न सकेनन्। उनीको कार्यकाल जागिर खाएरै बित्यो। उनले नियुक्ति लिँदै गर्दा नेप्सेको पुनर्संरचना गर्ने, डेरिभेटिभ प्रडक्ट लन्च गर्ने र नेप्सेलाई अन्तर्राष्ट्रिय स्तरको एक्सचेन्ज बनाउने प्रतिबद्धता जनाएका थिए। तर उनले आफ्नो कार्यकालमा कुनै पनि नयाँ काम गरेनन् बरु विदेश घुम्ने काममा रेकर्ड कायम गरेको नेप्सेका कर्मचारीहरू बताउँछन्। “हाम्रो प्रमुखले आफ्नो कार्यकालमा लगानीकर्ताले अनुभूति गर्ने गरी कुनै काम गर्नु भएन बरु सम्भवतः अहिलेसम्म आएका प्रमुख कार्यकारी अधिकृतले भन्दा बढी बिदेश भ्रमणको रेकर्ड भने राख्नु भयो,” नेप्सेका एक कर्मचारीले भने।

कार्कीले नियुक्ति पछि डेरिभेटिभ प्रडक्ट ल्याउने भन्दै केही कार्यक्रमको आयोजना समेत गरेका थिए। यस विषयमा उनले विज्ञहरूबाट अध्ययन समेत गराएका थिए। उनले नेप्से ३० नामक ट्रेडेबल इन्डेक्स बनाउने घोषणा गरेका थिए। आएको वर्षबाटै घोषणा गरिएको उक्त प्रडक्ट उनी बिदा हुने दुई दिन अघिसम्म पनि सञ्चालनमा आउन सकेन।

बरु उनले जाँदा जाँदै गर्ने नहुने एक निर्णय गरेर जाँदैछन्। नेप्सेको सहायक कम्पनीको रुपमा रहेको केन्द्रीय निक्षेप प्रणाली सिडिएससीमा प्रबन्ध सञ्चालकको जिम्मेवारी नेप्से कै कर्मचारी प्रवीण पन्दाकलाई दिए। जबकि प्रबन्ध सञ्चालक भनेको कार्यालयमा प्रमुख नहुँदा केही समयको लागि दिने नियुक्ति हो। तर उनले चार वर्षको लागि नियुक्त गरे। जुन संस्थागत सुशासन भन्दा बाहिर गएको सिडिएससीकै कर्मचारी बताउँछन्।

यस्ता किसिमका निर्णय गर्न थालेपछि एक महिना यता नेप्सेका कर्मचारीले त्यस्ता निर्णय नगर्न उर्दी जारी गरेका थिए। जसले गर्दा गएको १५ दिन यता उनी कार्यालय आउने र जाने मात्रै गरिरहेका थिए। हुन त नियम अनुसार नेप्से प्रमुखको पदावधि चार वर्षको हुने गर्छ। तर कार्कीलाई नियुक्ति दिँदै सरकारले तीन वर्षको लागि दिइएको थियो। सोही कारण उनी आउँदो शुक्रवार बिदा हुन लागेका हुन्।

Read More