अमेरिकाले चीन, क्यानडा र मेक्सिकोमाथि कर लगाएपछि सोमबार भारतीय बजारमा उथलपुथल देखिएको छ। फेब्रुअरी र व्यापार साताको पहिलो कारोबार दिन भारतीय शेयर बजारमा ठूलो गिरावट आएको छ।
सुरुवाती कारोबारमा, सेन्सेक्स ७३१.९१ अंकले घटेर ७६,७७४.०५ मा पुगेको थियो। त्यस्तै, निफ्टी २४३ अंकले घटेर २३,२३९.१५ अंकमा झरेको छ। यसबाहेक, सुरुवाती कारोबारमा अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ ५४ पैसाले घटेर ८७.१६ को अहिलेसम्मकै न्यून विन्दुमा झरेको छ। भारतीय शेयर बजारकाे तथ्याङ्क अनुसार, विदेशी संस्थागत लगानीकर्ताहरू (एफआईआई्) शनिबार बिक्रेता थिए र खुद १,३२७.०९ करोड भारतीय रुपैयाँको शेयर बेचेका थिए।
याे समाचार तयार पार्दासम्म सेन्सेक्स ३१३ अंक बढीले घटेर ७७,१९२ विन्दुमा काराेबार भइरहेकाे छ। निफ्टी पनि १२५ अंकले गिरावट हुँदा २३,३५६ विन्दुमा झरेकाे छ ।
अमेरिकी निर्णयको चिन्ताका बीच एसियाली बजार कमजोर
अमेरिकी निर्णयको चिन्ताका बीचमा एसियाली बजारमा आएको कमजोरीका कारण सोमबारको सुरुवाती कारोबारमा इक्विटी बेन्चमार्क सूचकांक सेन्सेक्स र निफ्टी घटेकाे बताइएकाे छ। सुरुवाती कारोबारमा ३० शेयर भएको बीएसई बेन्चमार्क सेन्सेक्स ७३१.९१ अंकले घटेर ७६,७७४.०५ विन्दुमा पुग्याे। एनएसई निफ्टी २४३ अंकले घटेर २३,२३९.१५ विन्दुमा पुग्याे। विनिमय तथ्याङ्क अनुसार, विदेशी संस्थागत लगानीकर्ता (एफआईआई्)ले शनिबार १,३२७.०९ करोड रुपैयाँको शेयर बेचेका छन्।
बजेट प्रस्तुत हुँदा शनिबार घरेलु बजार खुला
यसअघि, शनिबार भारतकाे संघीय बजेट प्रस्तुत भएकाले घरेलु बजारहरू खुला थिए। शनिबार अत्यधिक अस्थिर दिनको बजारमा बीएसई बेन्चमार्क ५.३९ अंक वा ०.०१ प्रतिशतको सीमान्त वृद्धिसहित ७७,५०५.९६ विन्दुमा बन्द भएको थियो। निफ्टी २६.२५ अंक वा ०.११ प्रतिशतले घटेर २३,४८२.१५ मा बन्द भएकाे थियाे।





