तनहुँका किसानले यस वर्ष सुन्तला बिक्रीबाट गरी रु ४२ करोड ५० लाखको आम्दानी गरेका छन्। जिल्लामा गत वर्ष रु ३० करोड बराबरको सुन्तला बिक्री भएको थियो।
कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष सुन्तलाको उत्पादन पनि बढेको छ। यस वर्ष एक हजार छ सय ५७ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएकामा नौ सय ६८ हेक्टर क्षेत्रफलबाट सुन्तला उत्पादन भएको केन्द्रका सूचना अधिकारी किरण परियारले जानकारी दिए। उनका अनुसार यस वर्ष पाँच हजार आठ सय ३१ मेट्रिक टन सुन्तला उत्पादन भएको छ। गत वर्ष जिल्लामा तीन हजार सात सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो।
परियारका अनुसार देवघाट, शुक्लागण्डकी र म्याग्दे गाउँपालिकामा सुन्तलाको उत्पादन राम्रो छ। म्याग्दे गाउँपालिका–३ उमाचोकका सुकनारायण श्रेष्ठले यस वर्ष सुन्तला बिक्री गरी रु ७० लाख आम्दानी गरे। देवघाट गाउँपालिका–३ का लुङ्ग्रिङमा एकै घरबाट रु २० लाखसम्मको सुन्तला बिक्री भएको छ।

