काठमाडौं : कल्पना तामाङ (नाम परिवर्तन) लाई तीन महिनाअघि इन्स्टाग्रामको म्यासेञ्जरमा एउटा सूचना आयो– ‘बधाई छ, तपाईंलाई आइफोन उपहार परेको छ। साथै १ करोडको चिट्ठा पनि परेको छ।’ त्यसपछि उपहारमा परेको आइफोन र नगद १ करोड पठाउन ह्वाटसएपमा कुरा गर्न तामाङलाई आग्रह गरियो। उनले खुसी हुँदै तुरुन्तै ह्वाटसएप नम्बर दिइन्। त्यसपछि ह्वाटसएपमा घण्टी बज्यो र भनियो, ‘अब तपाईंको गिफ्ट पार्सल गर्दै छौं, तर प्लेन भाडा १ लाख रुपैयाँ लाग्छ।’ त्यसपछि उनलाई तुरुन्तै बैंक खातामा पैसा राख्न भन्दै बैंक खाता दिइयो। आइफोन र एक करोड नगद पाउने आशामा रहेकी तामाङले ‘एक लाख के हो र ?’ भन्दै बैंक खातामा पैसा पठाइन्।


