नेपालमा लेखासम्बन्धी पेशा तथा शिक्षाको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) २८ औं वर्षमा प्रवेश गरेको छ ।
आइक्यानले आफ्नो वार्षिकोत्सवका अवसरमा विहीबार काठमाडौं र मुलुकभरी विविध कार्यक्रम आयोजना गर्यो । आइक्यानको वार्षिकोत्सव मूख्य समारोहलाई सम्बोधन गर्दै उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सही दिशामा चलायमान गराउन र वित्तीय अनुशासन कायम गर्न चार्टर्ड एकाउन्टेन्टको भूमिका महत्वपूर्ण रहेको बताए ।
चार्टर्ड एकाउन्टेन्टको काँधमा वित्तीय लेखाजोखा मूल्याङ्कन गर्ने जिम्मेवारी रहेको भन्दै उनले त्यो ठीक भएको खण्डमा वित्तीय सुशासन आफैं सही ठाउँमा आउने बताए । उनले सार्वजनिक वित्त व्यवस्थापन सुधारमा महत्वपूर्ण भूमिका खेल्ने समेत सुझाव दिए । मुलुकको कर प्रणाली सुधार र राजस्व वृद्धिमा चार्टर्ड एकाउन्टेन्टहरुको महत्वपूर्ण सहकार्यको अपेक्षा सरकारले गरेको उनले बताए । कर र राजस्वको क्षेत्रमा आवश्यकता अनुसार काम हुन नसकेको भन्दै उनले कर प्रणालीमा धेरै सुधार चाहिएको बताए । व्यवसायीले कर छल्न नसक्ने प्रकारको कर प्रणाली स्थापित गरिनुपर्ने उनको भनाई छ ।


