बैंकिङ क्षेत्रमा क्रेडिट बबलको चेतावनी, उत्पादन र व्यापारलाई छुट्टै ब्याजदरको माग


बैंकिङ क्षेत्रमा क्रेडिट बबलको चेतावनी, उत्पादन र व्यापारलाई छुट्टै ब्याजदरको माग

काठमाडौं : नबिल बैंकका वरिष्ठ उपप्रमुख कार्यकारी मनोज ज्ञवालीले बैंकिङ क्षेत्रमा बढ्दो क्रेडिट बबल (कर्जाको बुलबुला) को खतरा रोक्न उत्पादन र व्यापारिक क्षेत्रलाई छुट्टै ब्याजदर लागू गर्न आग्रह गरेका छन्। नेपाली कांग्रेसको स्टार्टअप र एसएमइ सम्मेलनमा बोल्दै उनले बैंक र व्यवसायीबीचको सांठगाँठले गत एक दशकमा अनियन्त्रित कर्जा वितरण गरेको आरोप लगाए।  

ज्ञवालीले भने, "हिजो १०–१२ वर्षमा हामी बैंकर र व्यवसायीले यति बदमासी गर्यौं कि त्यसको मनिटर गरेनौँ। हिजो बैंकहरूले बदमासी गरेकै हो। जथाभावी ब्याज बढाएको एसएमएस पठाएर पनि ग्राहकलाई ठगिएको महसुस गराइयो।" उनको भनाइ अनुसार, यसले कर्जा जीडीपी अनुपात ४६% देखि ९६% पुगे पनि रोजगारी र निर्यात बढ्न सकेन। "सेयर, गाडी र आयातमा कर्जा फ्याँकिएकै कारण यस्तो भयो। यसले आयात बढायो, तर निर्यातको ठाउँमा ट्रेडिङमा मात्रै पुँजी घुस्यो," उनले जोड दिए।  

उत्पादन र व्यापार क्षेत्रलाई छुट्टै ब्याजदर लागू गर्ने माग गर्दै ज्ञवालीले स्पष्ट गरे, "उत्पादन गर्ने कम्पनीलाई बैंकले कम ब्याजदरमा कर्जा दिनुपर्छ। तर, व्यापारिक कर्जामा उच्च दर हुनुपर्छ।" उनले यसको कारण बताउँदै भने, "उत्पादनले रोजगारी बढाउँछ, निर्यात बढाउँछ। तर हामीले हिजो अनुत्पादक क्षेत्रमा धेरै पुँजी फ्याँक्यौं।" 

ज्ञवालीले ब्याजदर एकल अंकमा झरे पनि कर्जा माग नबढ्नुका पछि युवा पलायन र राजनीतिक अस्थिरतालाई जिम्मेवार ठहर्याए। "मोटरसाइकल र स्कुटरको सेल्स ४५% ले घट्यो। यसको मतलब हाम्रो युवा पपुलेसन माइग्रेसन भएर गइरहेको छ। पोलिटिक्सले मान्छेमा आशा जगाउन सकेको छैन," उनले भने।

बैंकले दिँदै गरेको फिक्स्ड र फ्लक्चुएटिङ ब्याजदरको विकल्पप्रति ज्ञवालीले स्पष्ट गरे, "बैंकले ८% को फिक्स्ड रेटमा कर्जा दिन्छ। यदि ब्याजदर घट्छ भन्ने लाग्छ भने फ्लक्चुएटिङ रेट छनोट गर्न सकिन्छ।" तर उनले चेतावनी दिए, "कृषि र उद्योगमा कर्जा बढ्दैन भने क्रेडिट बबल फुट्ने खतरा छ। यसले मुद्रास्फीति र बेरोजगारी झन् बढाउनेछ।" 

अन्त्यमा, ज्ञवालीले बैंक, नीति निर्माता र राजनीतिक दलको सहकार्यमा आग्रह गर्दै भने, "राजनीतिले पनि उत्पादनलाई सपोर्ट गर्नुपर्छ। नत्र, अर्थतन्त्र क्रेडिट बबलबाट नफर्किने खतरा छ।"