अलैँची उत्पादनमा वृद्धि, एकै वर्षमा छ करोडको कारोबार


अलैँची उत्पादनमा वृद्धि, एकै वर्षमा छ करोडको कारोबार

बागलुङमा अलैँची उत्पादनमा वृद्धि भएको छ। क्षेत्र विस्तारका कारण गत वर्ष बागलुङका किसानले ४८ मेट्रिक टन अलैँची उत्पादन गर्न सफल भएका छन्।

कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार यहाँ किसानले अलैँची बिक्रीबाट एक आर्थिक वर्षमा रु. छ करोड भित्र्याउन सफल भएका छन्। राम्रो मूल्य पाउने आशामा प्रत्येक वर्ष अलैँची खेती विस्तार भइरहेको जैमिनी नगरपालिका वडा नं २ का कृषक बलिभद्र सापकोटाले बताए। उनका अनुसार अन्य जिल्लाको तुलनामा बागलुङका कृषकले अलैँचीको मूल्य कम पाएका छन्। यहाँ प्रतिकेजी रु. एक हजार २५० का दरले अलैँची बिक्री भएको छ।

उत्पादनबाट राम्रो आम्दानी हुने भएकाले यहाँ हरेक वर्ष किसानको आकर्षण बढिरहेको छ। अलैँची खेतीको विस्तारले यसलाई पुष्टि गरेको छ। यहाँ आर्थिक वर्ष ०७८र७९ मा एक सय २८ हेक्टर जमिनमा अलैँची खेती गरिन्थ्यो। जसमा ४२ मेट्रिक टन उत्पादन भएको थियो। प्रतिकेजी रु. नौ सय ५० का दरले बेच्दा कृषकले रु. तीन करोड ९९ लाखको कारोबार गरेका थिए। आर्थिक वर्ष ०७९र८० मा १३१ हेक्टर जमिनमा खेती विस्तार भयो तर उत्पादन भने घट्यो। त्यस वर्ष ३८ मेट्रिक टन उत्पादन भएको थियो। अलैँचीको फेद कुहिने, पात–डाँठ सुक्ने रोगको सङ्क्रमण भएपछि उत्पादन घटेको कृषक सापकोटाले बताए। 

Read More