कर्जा असुलीमा दबाब: राष्ट्रिय वाणिज्य र एनआईसी एशियाको नयाँ रणनीति कति प्रभावकारी?


कर्जा असुलीमा दबाब: राष्ट्रिय वाणिज्य र एनआईसी एशियाको नयाँ रणनीति कति प्रभावकारी?

काठमाडौँ । पछिल्ला समयमा अर्थतन्त्रमा देखिएको सुस्तताले बैंकिङ क्षेत्रमा कर्जा असुलीलाई थप चुनौतीपूर्ण बनाउँदै लगेको छ। दोस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूको कुल निष्क्रिय कर्जा (एनपिएल) ६ प्रतिशतभन्दा माथि पुगेको छ, जसले बैंकिङ प्रणालीमा थप दबाब सिर्जना गरेको छ। ऋण असुली गर्न गएका बैंकका कर्मचारीहरुमाथी हिँमसात्मक घटना भएका पछिल्ला उदाहरणले यो समस्या अझै गम्भीर बनेको देखाउँछ ।

यही परिस्थितिमा, राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंकले कर्जा असुली सुधार्नका लागि भन्दै नयाँ रणनीतिहरू अघि सारेका छन्। तर, यी रणनीतिहरूले कर्जा असुलीलाई प्रभावकारी ढंगले सुधार गर्न सक्ला त भन्ने प्रश्न उठिरहेको छ।

राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्षभित्र सातै प्रदेशमा छुट्टाछुट्टै कर्जा असुली एकाइ स्थापना गर्ने योजना अघि सारेको छ। बैंकले प्रादेशिक कार्यालयहरूलाई थप अधिकार प्रदान गर्दै खराब कर्जा व्यवस्थापनलाई सुधार्न कर्मचारीहरूलाई विशेष तालिम दिने तयारी गरिरहेको छ। बैंकको यो कदमले कर्जा असुली प्रक्रियामा सहजता ल्याउने र खराब कर्जाको समस्या घटाउने अपेक्षा गरिएको छ।

यसअघि एनआईसी एसिया बैंकले पनि कर्जा असुलीमा समस्या भएको भन्दै धितो लिलामीका लागि छुट्टै "अक्सन असिस्टेन्स" नामक साइट नै सञ्चालन गर्दै आएको छ। तर, आन्तरिक व्यवस्थापनका समस्याहरूले बैंकलाई थप दबाबमा पारेको छ। साधारण सभा समयमा सम्पन्न गर्न नसक्नु, सेयरधनीलाई बोनस वितरण गर्न नसक्नु र नेपाल राष्ट्र बैंकको निर्देशन उल्लङ्घन गरेको आरोपमा कारबाहीको सामना गर्नु जस्ता घटनाहरूले बैंकको साखमा नकारात्मक असर पारेका छन्।

राष्ट्र बैंकले एनआईसी एशिया बैंकलाई पुरानो मिति कायम गरी उच्च ब्याजदरमा मुद्दती खाता सञ्चालन गरेको भन्दै कारबाही गरेको छ। बैंकलाई कर्जा व्यवस्थापन सुधार गर्न र सुशासनको पूर्ण पालना गर्न निर्देशन दिइएको छ। अर्को तर्फ बैंकिङ क्षेत्रका चुनौतीहरूको सामना गर्ने क्रममा एनआईसी एशिया बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा संचालनमा रहेका २० वाणिज्य बैंक मध्य सबैभन्दा कम नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको  छ। यी चुनौतीहरूको सामना गर्दै बैंकले आफ्ना रणनीतिहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न अझ धेरै प्रयास गर्नुपर्ने देखिन्छ।

विश्लेषकहरूका अनुसार, राष्ट्रिय वाणिज्य बैंकको नवीन रणनीतिले कर्जा असुली प्रक्रियामा सुधार ल्याउने अपेक्षा गर्न सकिन्छ। यद्यपि, यसको सफलता धेरै हदसम्म प्रादेशिक एकाइहरूको सञ्चालन र तालिमको प्रभावमा निर्भर गर्नेछ। त्यस्तै, एनआईसी एशिया बैंकले आन्तरिक समस्याहरू समाधान नगरेसम्म कर्जा असुलीका लागि चालिएका कदमहरूले पूर्ण प्रभावकारिता हासिल गर्न सक्ने संभावना कमै देखिन्छ।

दुवै बैंकले कर्जा असुलीमा सुधार ल्याउनका लागि कदम चालेका छन्। तर यी कदमले अपेक्षाअनुसारको परिणाम दिन सक्ने वा अझै सुधारका लागि थप रणनीतिहरू आवश्यक पर्ने भन्ने कुरा भने समयले मात्र देखाउनेछ।