काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ क्षेत्रमा अनियमित क्रियाकलापको कुनै सहमति नरहने भन्दै राष्ट्र बैंकले सबै वित्तीय संस्थामा कडा निगरानी राखिरहेको बताएका छन्।
बिहीबार राष्ट्रिय वाणिज्य बैंकको ६०औं वार्षिकोत्सवमा उनले बैंकिङ क्षेत्रमा सुरक्षाको उच्चतम स्तर सुनिश्चित गर्न राष्ट्र बैंक प्रतिबद्ध रहेको उल्लेख गरे। गभर्नर अधिकारीले निक्षेपकर्ताको हितको रक्षा गर्दै राष्ट्र बैंकले कुनै सम्झौता नगर्ने स्पष्टता दिए।
गभर्नर अधिकारीले भने, “कुनै संस्था समस्यामा पर्यो भने त्यसको तथ्यांक राष्ट्र बैंकमा हुन्छ । कुनै पनि वित्तीय संस्थालाई व्यवस्थापन गर्ने जिम्मेवारी हाम्रो हो,” उनले भने, “राष्ट्र बैंकले रेगुलेट गरेको संस्थाको डिपोजिटरलाई हामी कुनै पनि हालतमा समस्या पर्न दिँदैनौँ । त्यो हाम्रो प्रत्याभूति नै हो ।”
केही दिन पहिले मात्र, राष्ट्र बैंकले एनआईसी एशिया बैंक लागाएत प्रभु बैंक र हिमालयन बैंकलाई नियम उल्लङ्घनको आधारमा कडा कारबाही गरेको छ। एनआईशी एशियाले बैंकका सञ्चालक तथा निजको परिवारका सदस्य एवम् सम्बद्घ संस्थाको खाता खोलेको मिति पुरानो राखेर प्रकाशित ब्याजदरभन्दा धेरै ब्याज दिएको ठहर गर्दै राष्ट्र बैंकले कारवाही गरेकाे छ ।
विश्लेषकहरूले यस्ता घटनाहरूले नेपालको बैंकिङ क्षेत्रमा सुधारको आवश्यकतालाई पुनः प्रकाशमा ल्याएको बताएका छन्। पारदर्शिता र आन्तरिक व्यवस्थापनको अभावले बैंकहरूलाई जोखिमको सामना गर्न बाध्य बनाइरहेको छ। यसले न केवल वित्तीय संस्थाहरूको दायित्वप्रति गम्भीर प्रभाव पार्छ, बल्कि सम्पूर्ण प्रणालीको दीर्घकालीन स्थिरतामा पनि खतरा उत्पन्न गर्छ।
यधपी, राष्ट्र बैंकले आफ्नो कडा नियमन र सुधारात्मक कदमहरूको माध्यमबाट बैंकिङ प्रणालीमा दीर्घकालिक स्थिरता र विश्वसनीयता सुनिश्चित गर्न निरन्तर प्रयास गरिरहेको छ। यसले ग्राहकहरूको सुरक्षामा ठूलो विश्वास ल्याउने र बैंकिङ क्षेत्रको समग्र विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।


