कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनामा जम्मा ८ अर्ब मात्रै बजेट खर्च गरेको छ। आर्थिक वर्ष २०८१/८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाख बराबरको बजेट विनियोजन भएको थियो। पुससम्म ६ महिनाको अवधिमा ८ अर्ब ८७ करोड ७६ लाख २० हजार रुपैयाँ खर्च भएको हो। यो खर्च विवरण २४.८५ प्रतिशत हो। मंसिर महिनासम्म सरकारले ७ अर्ब ७ करोड ८५ लाख रुपैयाँ खर्च गरेको थियो।
सरकारले अब ६ महिनामा खर्च गर्नुपर्ने बजेट २६ अर्ब ४१ करोड १६ लाख ७९ हजार ८ सय ४१ रुपैयाँ छ। पछिल्लो ६ महिनामा खर्च भएको रकममा चालु खर्चको हिस्सा ठूलो छ।
प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार ६ महिनाको अवधिमा ६ अर्ब २० करोड ९६ लाख ७३ हजार रुपैयाँ चालु खर्च भएको छ। ६ महिनाको अवधिमा पुँजीगत खर्च भने २ अर्ब ५५ करोड ८५ लाख ३४ हजार मात्रै भएको छ। प्रदेशमा चालुतर्फ १८ अर्ब ७३ करोड ४९ लाख र पुँजीगततर्फ १६ अर्ब ५२ करोड ४३ लाख ९३ हजार रुपैयाँ विनियोजन भएको थियो।


