मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा चिया निर्यात ५५ दशमलव ७० प्रतिशतले बढेको छ। कार्यालयको तथ्याङ्कानुसार साउनदेखि पुससम्ममा २ अर्ब ९५ करोड ९० लाख ३७ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ।
सोही अवधिमा ११ हजार २३२.२७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए। गत आव २०८०/८१ को सोही अवधिमा १ अर्ब ९० करोड ५ लाख ६ हजार बराबरको चिया निर्यात भएको थियो।
भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपाली चियाको निर्यात सुखद् पक्ष रहेको चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले बताए। चिया निर्यातमा नेपाल सरकारले सहजीकरण गरिदिने हो भने भारतमा माग बढेकाले चियाको निर्यात अझै बढ्ने अध्यक्ष पराजुलीको दाबी छ।

