किन बैंकहरूले पुरानो मितिमा खाता खोल्ने जोखिम उठाउँछन् ?


किन बैंकहरूले पुरानो मितिमा खाता खोल्ने जोखिम उठाउँछन् ?

काठमाडाैँ । पुरानो मितिमा खाता खोल्ने अभ्यास बैंकिङ प्रणालीमा देखिने एउटा विवादास्पद र अनियमित क्रियाकलाप हो । जसले वित्तीय पारदर्शिता र नीतिहरूको उल्लङ्घन गरेको देखाउँछ। यसमा बैंकले आफ्ना वित्तीय विवरणहरूमा हेरफेर गर्ने, नियामक निकायलाई भ्रमित गर्ने र विशेष व्यक्तिहरूलाई अनुचित फाइदा पुर्‍याउने प्रयास गर्ने सम्भावना रहन्छ।

हालै नेपालमा पनी राष्ट्रिय स्तरकाे एक वाणिज्य बैंक एनआईसी एशिया बैंकको अभ्यासले यसकाे उदाहरणलाई थप प्रष्ट पारेकाे छ । एनआईशी एशियाले बैंकका सञ्चालक तथा निजको परिवारका सदस्य एवम् सम्बद्घ संस्थाको खाता खोलेको मिति पुरानो राखेर प्रकाशित ब्याजदरभन्दा धेरै ब्याज दिएको ठहर गर्दै राष्ट्र बैंकले कारवाही समेत गरेकाे छ । जसले समग्र वित्तीय अनुशासन र पारदर्शितामाथि गम्भीर प्रश्न खडा गरेको छ। विशेषगरी, यसले ग्राहकहरूमा बैंकप्रति असन्तुष्टि बढाउनुका साथै  विश्वासमा समेत कमी ल्याउँने काम गरेकाे छ । बैंकले पुरानो मितिमा खाता खोली बैंककाे वित्तीय विवरणहरूलाई मनपरी रूपले हेरफेर गर्दा समग्र अर्थतन्त्रको छविमा नकारात्मक असर पार्ने काम गरेकाे छ ।

यस घटनाले नियामक निकायहरूको भूमिका र प्रभावकारिता पनि चुनौतीमा थपेकाे छ। नेपाल राष्ट्र बैंकले यस प्रकरणमा हस्तक्षेप गरे तापनि, यस्ता अनियमितताहरू रोक्न बैंकहरू विरुद्ध थप प्रभावकारी र कडा कदम चाल्न आवश्यक रहेको विज्ञहरूको ठहर छ। एनआईसी एशिया बैंकको यो कदमले बैंकिङ क्षेत्रको नीतिहरू र प्रक्रियामा सुधारको आवश्यकता र प्रतिबद्धता दर्शाउँछ।

अन्ततः, पुरानो मितिमा खाता खोल्ने अभ्यास बैंकिङ उद्योगको वित्तीय अनुशासन र पारदर्शिताका मान्यताहरूसँग मेल खाँदैन। यसले ग्राहकहरूको विश्वासलाई गम्भीर रूपमा प्रभावित गर्नुका साथै प्रणालीको सुचारुता र नियमिततालाई पनि खतरामा पारिरहेको छ। यस्तो घटनाबाट सबक लिँदै, बैंकहरूले पारदर्शिता कायम राख्नका लागि कडा निगरानी र नियमित मूल्याङ्कन गर्नु अनिवार्य छ। साथै, ग्राहकहरूले आफ्नो खाताको नियमित अनुगमन गर्नुपर्छ र कुनै अनियमितता देखिएमा सही प्रक्रिया अपनाउँदै सम्बन्धित पक्षसँग सोधपुछ गर्न आवश्यक छ। यसले बैंकिङ प्रणालीको स्थिरता र दीर्घकालीन विश्वास कायम राख्न मद्दत पुर्याउँछ।