चालु आवको ६ महिनामा नेपालको निर्यात व्यापार ३१.७८ प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको पहिलो ६ महिनामा नेपालले ९८ अर्ब ७८ करोड ९२ लाख रुपैयाँको सामान निर्यात गरेको छ ।
पाम, सोयाबिन र भटमासको तेलको भारत निर्यात बढेपछि समग्र निर्यातमै वृद्धि देखिएको हो । भारतले यी तेलहरुको भन्सार वृद्धि गर्दा नेपालबाट यी सामानहरुको निर्यात बढेको हो । गत आवको सोहि अवधिमा ७४ अर्ब ९६ करोड ८० लाख बराबरको निर्यात भएको थियो । भारतले २०८१ भदौ २९ गते भटमास, पाम, सोयाबिन तेलको भन्सार महशुल ५ प्रतिशतबाट २० प्रतिशत पुर्याएपछि नेपालबाट निर्यात हुने तेलको मात्रा बढेको हो । कच्चा पदार्थ अन्तर्गत पाम, भटमास र सोयाबिन तेल आयात गर्दा नेपालमा १० प्रतिशत भन्सार तिर्दा पुग्छ । भन्सार अन्तरमै शतप्रतिशत मार्जिन हुने भएपछि तेस्रो देशबाट तेल आयात गरी भारत पठाउन सुरु गरेको हो ।


