पछिल्ला महिनाहरूमा नेपालको वैदेशिक व्यापार सुधारोन्मुख देखिएको छ।
२०८१ साउन महिनादेखि यता करिब एक खर्ब (९८ अर्ब ७९ करोड) रूपैयाँ बराबरको वस्तु निर्यात भएको छ। आयातको अनुपातमा निकै कम निर्यात हुने गरेपनि पछिल्लो तीन महिनादेखि निर्यातमा उच्च वृद्धि छ।
करिब साढे दुई वर्षदेखि आयात र निर्यात व्यापार लगातार कम हुँदै गएकोमा पछिल्ला तीन महिनामा उल्लेखनीय बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ।
हालसम्म नेपालले गरेको अन्तर्राष्ट्रिय व्यापारमा वार्षिक दुई खर्ब रूपैयाँसम्म निर्यात पुगेको थियो। आर्थिक वर्ष २०७८/७९ मा भएको दुई खर्ब तीन करोड रूपैयाँ नै अहिलेसम्मको उच्च निर्यात हो।


