वाशिङ्टन डीसी (अमेरिका) । सन् २०१८ मा अमेरिकाको आर्थिक वृद्धि यसअघि अनुमान गरेभन्दा कमजोर रहेको छ । परिमार्जित आधिकारिक तथ्यांक अनुसार गतवर्ष अमेरिकाको आर्थिक वृद्धिदर २ दशमलव ५ प्रतिशत रहेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो अवधिका लागि ३ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेका थिए ।
त्यस्तै, यस वर्षको दोस्रो त्रैमासमा पनि अमेरिकाको आर्थिक वृद्धि सुस्ताएको छ । सो अवधिमा अमेरिकाको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशतमा सीमित छ । निर्यातमा कमी आउनुका साथै कम्पनीहरूले व्यवसायमा लगानी घटाएसँगै अमेरिकाको आर्थिक क्षेत्र प्रभावित भएको हो । यस वर्षको पहिलो ३ महीनामा भने अमेरिकाको आर्थिक वृद्धिदर ३ दशमलव १ प्रतिशत थियो । यसअघि विश्लेषकहरूले वर्षको दोस्रो त्रैमासमा अमेरिकाको आर्थिक वृद्धिदर १ दशलमव ८ प्रतिशत रहने अनुमान गरेका थिए । तर, अमेरिकाको उपभोक्ता खर्च र सरकारी खर्चमा उल्लेख्य वृद्धि भएसँगै त्यसको केही प्रभाव अमेरिकाको अर्थतन्त्रमा परेको हो ।
...








