कपिलवस्तुको यशोधरा गाउँपालिकास्थित सुठौली भन्सारमा चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा ४० करोड बढी राजस्व संकलन भएको छ। साउनदेखि पुससम्ममा ४० करोड ७८ लाख ६७ हजार राजस्व संकलन भएको हो।
जुन वार्षिक लक्ष्यको ५० प्रतिशत बढी हो। भन्सार प्रमुख नारायण गैरेले सुठौली भन्सारले ६ महिनामा तोकिएको वार्षिक लक्ष्यको ५० प्रतिशत बढी राजस्व उाठउन सफल भएको बताए। ६ महिनाको लक्ष्य भने १०४ प्रतिशत हो।
सुठौली भन्सारको वार्षिक लक्ष्य ८० करोड तोकिएको छ। गत आर्थिक वर्ष २०७९/८० को ६ महिनामा करिब २० करोड रूपैयाँ राजस्व उठेको थियो। सबैभन्दा बढी मंसिर महिनामा सात करोड २० लाख ४४ हजार लक्ष्य तोकिएकोमा १० करोड ७८ लाख ९४ हजार संकलन भएको छ। जुन मासिक लक्ष्यको झन्डै १५० प्रतिशत हुन्छ।

