काठमाडौँ — टिकटकले अमेरिकामा आफ्नो सञ्चालन बन्द गर्ने तयारी गरेको छ । जनवरी १९ सम्मको समयसीमा सकिने भएपछि टिकटकले यही आइतबारदेखि अमेरिकामा टिकटक उपलब्ध नहुने बनाउन लागेको रोयटर्सले जनाएको छ । योसँगै अमेरिकाका १७ करोड टिकटक प्रयोगकर्ताले एप चलाउन पाउने छैनन् ।
सोमबार ह्वाइट हाउस प्रवेशसँगै राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सुरु गर्नुअघि नै अमेरिकामा टिकटक बन्द हुन लागेको हो । वासिङ्टन पोस्टका अनुसार ट्रम्पले भने टिकटकमाथि प्रतिबन्ध लगाउने मिति जनवरी १९ मा नभएर त्योभन्दा ६० देखि ९० दिन पर धकेल्ने गरी कार्यकारी आदेश जारी गर्ने तयारी गरेका छन् । तथापि, उनले कानुनी रूपमा कसरी त्यस्तो आदेश जारी गर्न सक्छन् भन्नेमा प्रश्न छ ।

