आर्थिक गतिविधि चलायमान नहुँदा सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छैन। चालु आर्थिक वर्ष २०८१/८२ पहिलो ६ महिनामा सरकारले लक्ष्यभन्दा करिब डेढ खर्ब कम राजस्व संकलन गरेको हो। राजस्व संकलन कम भएपछि सरकारलाई खर्च चलाउन हम्मे परेको छ। सरकारको आम्दानीभन्दा खर्च करिब ९३ अर्ब रूपैयाँ बढी देखिएको छ।
चालु आवको पहिलो ६ महिनाको अवधि पुस मसान्तसम्म सरकारले ५ खर्ब ६७ अर्ब रूपैयाँ मात्र राजस्व संकलन गरेको छ। लक्ष्यअनुसार ६ महिनामा ७ खर्ब ९ अर्ब ५० करोड रूपैयाँ संकलन हुनुपर्थ्याे। आर्थिक वर्षको आधा समय व्यतीत भएकाले लक्ष्यको आधा राजस्व संकलन हुनुपर्ने भए पनि एक खर्ब ४२ अर्ब रूपैयाँ कम राजस्व संकलन भएको छ। सरकारले बजेटमा चालु आवमा १४ खर्ब १९ अर्ब रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ। सरकारी लक्ष्यअनुसार मासिक एक खर्ब १८ अर्ब २५ करोड राजस्व संकलन हुनुपथ्र्यो।

