राजस्व संकलनमा उछाल: ६ महिनामै ५ खर्ब ५९ अर्ब, गत वर्षको तुलनामा ६३ अर्ब बढी!


राजस्व संकलनमा उछाल: ६ महिनामै ५ खर्ब ५९ अर्ब, गत वर्षको तुलनामा ६३ अर्ब बढी!

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ, जुन गत आर्थिक वर्षको तुलनामा ६३ अर्ब रुपैयाँले बढी हो। यो वृद्धि १३ प्रतिशत रहेको छ।

गत आर्थिक वर्षको पुस मसान्तसम्म ४ खर्ब ९६ अर्ब राजस्व संकलन भएको थियो। यस वर्ष १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा पुस मसान्तसम्म ५ खर्ब ६७ अर्ब संकलन भइसकेको छ, जुन वार्षिक लक्ष्यको ४० प्रतिशत हो।

पुस महिनामा मात्रै १ खर्ब ६० अर्ब राजस्व संकलन भएको छ। चालु आर्थिक वर्षको ६ महिनामा ६ खर्ब ७२ अर्ब राजस्व संकलन गर्ने लक्ष्य थियो, तर हालसम्म यो लक्ष्यको ८४ प्रतिशत मात्र प्राप्त भएको छ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा भएको वृद्धि सकारात्मक भएको उल्लेख गर्दै लक्ष्यअनुरूप अझै संकलन बढाउने प्रतिबद्धता जनाउनुभयो।

अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईका अनुसार बाढी-पहिरो, पेट्रोलियम पदार्थको आयातमा कमी, विद्युतीय सवारी साधनको बढ्दो आयात, दुरसञ्चार क्षेत्रमा आएको प्रभाव र आयात तथा मागमा आएको कमीका बाबजुद चालु आर्थिक वर्षको राजस्व संकलन उल्लेखनीय रहेको छ।