काठमाडौं : गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको आइपीओ यसै साताभित्र बाँडफाँट गर्ने प्रारम्भिक तयारी गरिएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार अझै केही काम बाँकी रहेकोले यो साताभित्र आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । यद्यपि, बाँडफाँट गर्ने मिति र समय भने अझै यकिन हुन बाँकी रहेको क्यापिटलले बताएको छ ।
यता, गार्डियन माइक्रोको आइपीओ हात पार्न भाग्यकै भर पर्नुपर्नेछ । यसमा मागभन्दा १३.६५ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १९ लाख ६ हजार ८४८ जनाले कुल २ करोड ५१ लाख ९० हजार ३६० कित्ताका लागि आवेदन दिएका छन् । जसमा १ लाख ८४ हजार ५०० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १७ लाख २२ हजार ३४८ जनाको भने हात खाली हुनेछ ।





