चालु आर्थिक वर्षको ६ महिना बित्नै लाग्दा जम्मा एक कम्पनीको प्राथमिक निष्कासन स्वीकृत भएको छ।
गत मंसिर ७ गते चालु आर्थिक वर्षको पहिलो आइपीओ स्वीकृत भएको हो। त्यो पनि बोर्डमा नयाँ अध्यक्ष आउनु भन्दा अघि नै स्वीकृत गरिएको थियो। किनकि गत मंसिर १० गते नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष भएर सन्तोष नारायण श्रेष्ठ आएका हुन्। उनी आए यता भने एउटै कम्पनीको प्राथमिक निष्कासन स्वीकृत भएको छैन। जबकि नयाँ अध्यक्ष नियुक्त भएको पनि डेढ महिना भइसकेको छ।
पाइप लाइनमा ८५ कम्पनी छन्। जो अनुमतिको पर्खाइमा छन्। तर धितोपत्र बोर्ड भने काम भइरहेको भन्छ। प्रक्रियामा रहेकोले समय लागेको उसको भनाइ आउने गरेको छ। “धेरै जसो कम्पनीको फाइल अहिले धमाधम खुलिरहेका छन्। निक्कै लामो समय पेन्डिङ हुन पुगेकोले पनि थोरै समय लागेको हो। जुन रफ्तारले काम भइरहेको छ। त्यस अनुसार अब धेरै समय लग्ने देखिँदैन,” धितोपत्र बोर्डका प्रवक्ता निरन्जय घिमिरेले मेरो लगानीसँग भने।
बोर्डले नयाँ अध्यक्ष आए देखिनै अर्को साताबाट प्राथमिक निष्कासन स्वीकृत हुने बताउँदै आएको हो। तर उसको अर्को साता भने डेढ महिना हुनै लाग्दा समेत आएको छैन। जसले गर्दा धेरै कम्पनीले आफ्नो योजना अनुसार काम गर्न पाएका छैनन्। जसले गर्दा धेरै कम्पनी मर्कामा परेको ठहर शेयर बजारका विज्ञहरूले गरिरहेका छन्।


