बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको छ। नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन २०८० संशोधन तथा परिमार्जन गरी माघ एक गतेदेखि लागु हुने गरी बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य हुने व्यवस्था गरेको छ।
हरेक व्यक्तिका डेटालाई एकीकृत गर्न सरकारले राष्ट्रिय परिचय पत्रलाई हरेक क्षेत्रमा क्रमशः अनिवार्य गर्दै आएको अवस्थामा पछिल्लो पटक बैंकमा पनि अनिवार्य गर्न थालेको छ। राष्ट्र बैंकले नयाँ खाता खोल्न मात्र नभएर पुरानो खातालाई अद्यावधिक गर्न पनि राष्ट्रिय परिचय पत्रलाई प्रयोगमा ल्याउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको जनाएको छ।
‘बैंक तथा वित्तीय संस्थाले माघ एक गतेदेखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचय पत्रको प्रतिलिपि लिएर मात्र खाता खोल्ने अनिवार्य व्यवस्था मिलाउनु पर्नेछ,’ राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनमा भनिएको छ।

