काठमाडौं : एनसेल आजियाटा लिमिटेडले गत वर्ष (सन् २०२४) मा ३४ अर्ब ६ करोड ८० लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ । यो सन् २०२३ को भन्दा ९.०१ प्रतिशत कम हो । सन् २०२३ मा यस कम्पनीले ३७ अर्ब ४४ करोड २० लाख र सन् २०२२ मा ३९ अर्ब ७२ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको केयर रेटिङ नेपाल लिमिटेडले जनाएको छ । यता, कम्पनीले चालु आर्थिक वर्षको ३ महिनामा ८ अर्ब ३० करोड आम्दानी गरेको छ । एनसेलको आम्दानी पछिल्लो ३ वर्ष लगातारजस्तो घटेको छ ।
सन् २००१ मा स्पाइस नेपाल प्रालिको रुपमा स्थापना भएको यो कम्पनीले आफ्नो व्यावसायिक अपरेसन सन् २००५ को सेप्टेम्बरदेखि सुरु गरेको थियो । यो नेपालमा पहिलो निजी क्षेत्रको जीएसएम टेलिकम अपरेटरको रुपमा ‘मेरो मोबाइल’ ब्रान्ड नाममा सञ्चालनमा आएको थियो ।


