पोखरा — सहकारीको बचत गोर्खा मिडियामा आएको विषयमा आफूलाई जानकारी नै नभएको दाबी गर्दै आएका गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले काटेका चेकको हस्ताक्षर फरेन्सिक परीक्षणबाट पनि प्रमाणित भएको छ ।
कम्पनीको प्रबन्ध निर्देशकका रूपमा लामिछानेले १५ महिनामा ८२० चेक काटेका थिए, जसमा चार दर्जन चेक सहकारीको ऋण भुक्तानीका लागि काटिएका थिए ।
पोखराको सूर्यदर्शन सहकारीमा ‘पुलेसो कर्जा’ शीर्षकमा खोलिएको कृत्रिम खातामार्फत कर्जा निकाल्न प्रयोग गरिएको हस्ताक्षर भने पोखरा महानगर र प्रहरीले दाबी गरेजस्तै नक्कली नै रहेको प्रमाणित भएको छ । सहकारीको बचत अपचलन गर्न योजनाबद्ध रूपमा नक्कली विवरण भरेर कृत्रिम खाता खोलेको भन्दै महानगरको अध्ययन र प्रहरीको अनुसन्धानले लामिछानेलाई जवाफदेही बनाउन भनेका छन् ।

