लमजुङमा चार सय मेट्रिकटन सुन्तला उत्पादन


लमजुङमा चार सय मेट्रिकटन सुन्तला उत्पादन

चालु आर्थिक वर्षमा जिल्लामा चार सय मेट्रिकटन सुन्तला उत्पादन भएको छ। एक सय ३० हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाखेतीबाट चार सय मेट्रिकटन उत्पादन भएको जिल्लास्थित कृषि ज्ञान केन्द्र कार्यालयले जनाएको छ।

विगतमा प्रशस्त सुन्तला उत्पादन हुने गरेकामा किसानको बेवास्ता, बोटमा रोग र किरा लाग्नेलगायत समस्याले उत्पादनमा वृद्धि हुन नसकेको कार्यालयका कृषि प्रसार अधिकृत सरोज थापाले बताए। केही वर्षदेखि बर्सेनि सुन्तला उत्पादनमा घट्दै गए पनि गत वर्ष र यस वर्ष तुलनात्मक रूपमा बराबर उत्पादन भएको उनले उल्लेख गरे।

गाउँसहर, स्याउत, चिती, भोर्लेटार, सिम्पानी, कुन्छा, गहते, दुराडाँडा, राइनास, भोजे, उदीपुर धिमिरेलगायत ठाउँमा बर्सेनी सुन्तला उत्पादनमा कमी हुँदै आएको थापाले जानकारी दिए। कार्यालयका अनुसार गत आवमा पनि एक सय ३० हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तला खेतीबाट चार सय मेट्रिकटन उत्पादन भएको थियो। आव २०७९/८० मा एक सय २५ हेक्टर क्षेत्रफलमा लगाइएको खेतीबाट पाँच सय २५ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो।

Read More