काठमाडौँ — काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन अभियोगमा गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने तथा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल बञ्जाडे जोशीसहित ३९ जनाविरुद्ध ठगी र संगठित अपराधमा मुद्दा दायर भएको छ ।
- गोर्खा मिडिया प्रालिको ग्लोबल आईएमई बैंकको ००४०१०१००००५७७ नम्बरको खाताबाट २८ भदौ २०७७ देखि २ फागुन २०८० सम्म कुल १२ सय ३७ थान चेक काटिएका थिए । यी चेकबाट ५९ करोड ४९ लाख ४४ हजार ९५५ को कारोबार गरिएको थियो । योमध्ये ८ सय २० थान चेक तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने एक्लैले काटेका थिए, जसबाट ४९ करोड १८ लाख ४१ हजार २४६ रुपैयाँको कारोबार भएको थियो ।

