काठमाडौं : सरकारले नेपाल धितोपत्र बोर्डलाई सम्पति शुद्धीकरण निवारणका लागि नियमनकारी निकाय तोकेको छ । सरकारले सम्पति शुद्धीकरण ऐन २०६४ दिएको अधिकार प्रयोग गरी समन्वय समितिको सिफारिसमा इन्भेष्टमेन्ट कम्पनीहरुकोे सम्पत्ति शुद्धीकरण निवारणका लागि धितोपत्र बोर्डलाई नियामक तोकेको हो ।
सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै ५ करोड रुपैयाँ वा सोभन्दा बढी चुक्ता पुँजी भएका वा १० करोड भन्दा बढी वार्षिक कारोबार गर्ने इन्भेष्टमेन्ट कम्पनीको हकमा धितोपत्र बोर्डले सम्पति शुद्धीकरण निवारणका लागि नियमन गर्ने जनाएको छ । यही पुस मसान्त देखि नियमन सुरु गर्नु पर्ने सूचनामा उल्लेख छ । तर, ५ करोड भन्दा कम चुक्ता पुँजी भएका वा वार्षिक १० करोड भन्दा कम कारोबार गर्ने इन्भेष्टमेन्ट कम्पनीको हकमा भने जोखिमको आधारमा बोर्डले तोकेको मितिदेखि नियमन सुरु गर्न सक्ने व्यवस्था गरिएको छ ।


