अमेरिकाले चिनियाँ सरकारकै सहयोगमा एक जना ह्याकरले आफ्नो अर्थ मन्त्रालयको अधिकाँश प्रणाली ह्याक गरेर गोप्य कागजातहरू चोरेको आरोप लगाएको छ ।
नयाँ वर्षको ठीक पूर्व सन्ध्या र नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हाल्नुभन्दा केही दिन अगाडि भएको यो घटनाले सन् २०२५ को शुरुदेखि नै दुई देशबीच तनाव सृजना भएको छ । ट्रम्पले सत्ता सम्हालेपछि दुई देशबीचको सम्वन्ध के होला ? भन्ने आशंका बीच अमेरिकी सरकारले लगाएको पछिल्लो गम्भिर आरोपले दुई देशबीच निकट भविश्यमै आर्थिक युद्ध हुन सक्ने खतरालाई निम्त्याएको विश्लेषकहरुको भनाइ छ ।अमेरिकाको अर्थ मन्त्रालयले आफ्नो प्रणालीमा चिनियाँ हस्तक्षेप डिसेम्बर महिनाको २ तारिखदेखि ८ तारिखको बीचमा भएको दावी गरेको छ । तर, उसले यो घटनालाई अहिलेसम्म गोप्य राखेको थियो ।
मन्त्रालयले सांसदहरूलाई उक्त घटनाबारे लिखितरुपमा जानकारी दिएपछि यो घटना सोमबार मात्र सार्वजनिक भएको थियो । मन्त्रालयले सांसदहरुलाई लेखेको पत्रमा उक्त घटनाले पारेको नकारात्मक असरको बारेमा अहिले सङ्घीय जाँच ब्यूरो (एफबीआई) र अन्य निकायहरूले अनुसन्धान गरिरहेको बताइएको छ । मन्त्रालयले चीनमा रहेको ‘एडभान्स्ड पर्सिस्टेन्ट थ्रेट’ (एपीटी)ले उक्त ह्याकिङ गरेको दावी गरेको छ ।


