सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको ‘वैदेशिक रोजगार बचतपत्र–२०८६ (क)’ को बिक्री निकै न्यून देखिएको छ । गत मङ्सिर १२ गते जारी भएको रू ५० करोड बराबरको बचतपत्र आइतबार बिक्री बन्द भएको हो । यो बचतपत्र करिब ११ प्रतिशत मात्रै बिक्री भएको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी मुकुन्द पोखरेलका अनुसार वैदेशिक रोजगार बचतपत्र रू पाँच करोड ४२ लाख बराबरको बिक्री भएको छ ।
कार्यालयले जारी गरेको रू दुई अर्ब बराबरको ‘नागरिक बचतपत्र–२०८६ (क) भने शतप्रतिशत बिक्री भएको छ । नागरिक बचतपत्रमा साँढे सात र वैदेशिक रोजगार बचतपत्रमा साँढे आठ प्रतिशत ब्याज तोकिएको छ । बचतपत्रको ब्याज प्रत्येक छ महिनामा सम्बन्धित खरिदकर्ताको बैंक खातामा सोझै भुक्तानी हुन्छ ।

