नेपाल बैंक लिमिटेडको क्रियाशील ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौथो महाधिवेशन २०८१ माघ ११ र १२ गते भक्तपुर, बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा भव्य रूपमा सम्पन्न भयो।
नेपाल बैंक लिमिटेडको चौथो महाधिवेशन “सुढृढ तथा क्रान्तिकारी ट्रेड युनियन आन्दोलनको विकास गरौं, स्वच्छ र जनउत्तरदायी बैंक व्यवस्थापनको स्थापना गरौं” भन्ने मूल नाराका साथ सम्पन्न भएको छ।
भव्य रूपमा आयोजित महाधिवेशनमा नेकपा (माओवादी केन्द्र) का उप-महासचिव तथा कर्मचारी फ्र्याक्सन इन्चार्ज हरिबोल गजुरेल, नेपाल राष्ट्रिय कर्मचारी महासंघका केन्द्रीय अध्यक्ष मणिरत्न श्रेष्ठ, नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय, महासंघका केन्द्रीय महासचिव प्रेम खनाल र सल्लाहकार संयोजक कृष्णहरि बुढाथोकी लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
महाधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथि गजुरेलले नेपाल बैंक लिमिटेडले आफ्नो पुरानो प्रतिष्ठा पुनःस्थापना गर्दै पहिलो स्थानमा ल्याउन संगठन र व्यवस्थापनले सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। महासंघका अध्यक्ष श्रेष्ठले ट्रेड युनियन आन्दोलनलाई दबाउन कुनै पनि प्रयास भए त्यसको कडा प्रतिकार गरिने बताउँदै, चौथो महाधिवेशनले कर्मचारी हकहितमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो। प्रमुख कार्यकारी अधिकृत पाण्डेयले बैंकको विकासमा ट्रेड युनियनको भूमिकाको प्रशंसा गर्दै नयाँ केन्द्रीय समितिले अझ सशक्त भूमिका खेल्ने अपेक्षा व्यक्त गर्नुभयो।
कार्यक्रमको सभाध्यक्ष नेपाल राष्ट्रिय कर्मचारी संगठनका निवर्तमान अध्यक्ष गोविन्द प्रसाद सुवेदीले बैंकलाई संस्थागत सुशासन कायम गर्न र कर्मचारीको वृत्तिविकासका लागि संगठन सधैं तत्पर रहेको बताउनुभयो। उहाँले महाधिवेशनले संगठनलाई थप ऊर्जा प्रदान गरेको भन्दै यसले कर्मचारी हकहित र बैंकको समग्र विकासमा नयाँ दिशा तय गर्ने विश्वास व्यक्त गर्नुभयो।
देशभरिबाट करिब ५०० भन्दा बढी सदस्यहरूको सहभागितामा दुई दिनसम्म चलेको महाधिवेशनले गोविन्द प्रसाद सुवेदीको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति र १३३ सदस्यीय केन्द्रीय परिषद समिति निर्वाचित गरेको छ। महाधिवेशनको समापनमा सल्लाहकार संयोजक कृष्णहरि बुढाथोकीले संगठनले खेलेको भूमिकाको प्रशंसा गर्दै नयाँ नेतृत्वलाई शुभकामना व्यक्त गर्नुभयो।


