काठमाडौं । भारतले लिम्पियाधुरा र लिपुलेकमा आफ्नो प्रभाव बढाइरहँदा नेपाल सरकार मौन देखिएको छ । भारतले सो क्षेत्रमा विभिन्न परियोजना सञ्चालनदेखि विकास निर्माणका कामलाई निरन्तरता दिइरहेको छ ।
भारतले लिम्पियाधुरा र लिपुलेकमा आफ्नो प्रभाव बढायो
पछिल्लो समय भारत र चीनले लिपुलेकलाई तीर्थयात्री आवतजावतको केन्द्र बनाउने सहमति गरेका छन् । कोभिड–१९ महामारीका कारण लिपुलेक हुँदै कैलाश मानसरोवर जाने तीर्थयात्रीको आवतजावत रोकिएको थियो ।
गत १८ डिसेम्बरमा चीनका परराष्ट्रमन्त्री वाङ वी र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभेलबीच लिपुलेक प्रयोग गरेर कैलाश मानसरोवर जाने तीर्थयात्रीको आवतजावत सहज गर्ने सहमति भएको छ । चीनमा भएको सो सहमति भारतको परराष्ट्र मन्त्रालयले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ । सहमतिको बुँदा नम्बर ६ मा दुई देशबीच भएको सहमतिअनुसार कैलाश मानसरोवर यात्राको पुनः सुरुवात, सीमापार नदीहरूको तथ्यांक आदानप्रदान र सीमा व्यापारलगायतका सीमापार सहयोग र आदानप्रदानका लागि सकारात्मक दिशानिर्देश गर्ने भनिएको छ ।


