सुदूरपश्चिमको पहिलो केबलकार परियोजना ‘जालपादेवी केबलकार’ शिलान्यास सम्पन्न


सुदूरपश्चिमको पहिलो केबलकार परियोजना ‘जालपादेवी केबलकार’ शिलान्यास सम्पन्न

सुदूरपश्चिम प्रदेशको पहिलो केबलकार परियोजना ‘जालपादेवी केबलकार’को शिलान्यास विशेष समारोहका बीच सम्पन्न भएको छ। कैलाली जिल्लाको चिसापानीमा आयोजित यस कार्यक्रममा प्रमुख अतिथि परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले परियोजनाको शिलान्यास गर्दै यसले सुदूरपश्चिमको पर्यटन, आर्थिक र सामाजिक विकासमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन्।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले परियोजनाको महत्वमाथि प्रकाश पारे।

आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो मन्तव्यमा सुदूरपश्चिमको पर्यटन विकास र आर्थिक समृद्धिलाई लक्षित गर्दै केबलकार र होटलसहितका परियोजना निर्माणमा समर्पित रहेको जानकारी दिए। उनले चन्द्रागिरि केबलकारको सफलताबाट प्रेरित भएर सातै प्रदेशमा यस्ता परियोजना विस्तार गर्ने योजना रहेको बताए। ढकालका अनुसार चन्द्रागिरि मात्रबाट दैनिक ३ हजार आगन्तुकको आवागमनले स्थानीय व्यवसाय र रोजगारीमा सकारात्मक प्रभाव पारेको छ।

जालपादेवी केबलकार परियोजनाले चिसापानी क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ। यसले सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, धार्मिक महत्त्व र मनोरञ्जनात्मक पर्यटनलाई प्रवर्द्धन गर्न सहयोग गर्ने विश्वास व्यक्त गरिएको छ।

परियोजनामा स्थानीय सहभागिता सुनिश्चित गर्न स्थानीय प्रतिनिधिहरूको सक्रिय भूमिका रहने बताइएको छ। सुदूरपश्चिमका रामारोशन, बडीमालिका, खप्तड, र शुक्लाफाँटजस्ता प्राकृतिक र सांस्कृतिक गन्तव्यहरूको प्रचार-प्रसार र पर्यटन पूर्वाधार विकासका लागि सरकार र निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको ढकालले उल्लेख गरे।

उनले कर्णाली नदीमा जल पर्यटन, र्याफ्टिङ, प्याराग्लाइडिङ र ट्रेकिङ जस्ता साहसिक गतिविधि सञ्चालन गर्न सके यस क्षेत्रले आर्थिक क्रान्ति गर्न सक्ने धारणा व्यक्त गरे। भारतीय सीमावर्ती क्षेत्रसँग नजिक रहेकाले भारतीय पर्यटकलाई आकर्षित गर्न पनि यो परियोजनाले रणनीतिक महत्त्व राख्ने उनको विश्वास थियो।

समारोहमा संघीय, प्रदेश र स्थानीय सरकारका पदाधिकारी, जनप्रतिनिधि, व्यवसायी, पत्रकार र स्थानीयवासीको उल्लेखनीय उपस्थिति थियो। परियोजनाले सुदूरपश्चिमको आर्थिक र पर्यटन विकासमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ।