जलविद्युत आयोजनाहरुमा निजी क्षेत्रको स्वामित्व बढाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।
शुक्रवार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिमा विद्युत विधेयक, २०८० माथिको छलफलमा सांसदहरुले जलविद्युत परियोजनामा निजी क्षेत्रको लगानीलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका हुन ।
बैठकमा बोल्दै नेकपा एमालेका सांसद महेश बर्तौलाले नेपालका जलविद्युत आयोजनाहरुमा कम्तिमा पनि ४९ प्रतिशत शेयर विदेश वा स्वदेशमा भएका नेपाली नागरिकको रहने व्यवस्था गर्नुपर्ने बताए । उनले निजी क्षेत्रलाई जलविद्युत आयोजनाहरुमा समेट्न सकेको अवस्थामा जनताको सहज पहुँच हुने उनको विश्वास छ ।
उनले लघु तथा समुदायस्तरबाट सञ्चालित जलविद्युतहरुलाई निरुत्साहित दिशामा अगाडि बढ्न नहुने उनको भनाइ छ । उनले मुलुकको विकास र समृद्धिमा निजी क्षेत्रको सहभागितालाई अस्वीकार गर्न नमिल्ने बताए।
उनले भने, ‘यस विधेयकले संविधानको एस्पेक्ट बमोजिम नै निजी क्षेत्रलाई हामीले अस्विकार गर्न सक्दैनौं । देशको विकास र समृद्धिमा निजी क्षेत्रको सहभागितालाई हामीले अस्विकार गर्न मिल्दैन । यस विषयलाई विधेयकका कतिपय दफाहरुले ध्यान पुर्याउन नसकेको भन्ने लाग्छ । हामीले यो विधेयकमा काम गर्दैगर्दा त्यो पाटोलाई फिनिसिङ गर्दा समितिले मेरो विचारमा ख्याल पुर्याउनुपर्छ कि । जलविद्युत परियोजनाान नेपालीहरुको लगानी प्रवर्द्धन होस् र बढुवा दिनुपर्छ भन्ने कोणबाट यो विषय उठाएको छु । कम्तिमा पनि जलविद्युत आयोजनाहरुमा देशमा होस् वा विदेशमा रहेका नेपाली लगानीकर्ताहरुको शेयर ४९ प्रतिशत रहने प्रावधान ल्याउन सकियो भने परियोजनामा साधारण जनताको पनि पहुँच हुन्छ भन्ने मलाई लाग्छ । अहिले पनि समुदायको तर्फबाट साना साना योजनाबाट जलविद्युत उत्पादन भएको छ । लघु तथा समुदायको स्तरबाट उत्पादन भएका जलविद्युतहरुलाई अगामि दिनमा हामीले निरुत्साहित गर्नु हुदैन । त्यस विषयलाई पनि विधेयकले समेटेर ठाउँ दिनुपर्दछ ।’


