रामपुर (पाल्पा) । रामपुर नगरपालिका–५ सानीअमराईका पुरुषोत्तम ढुङ्गानाले पशुपालन व्यवसायबाट वार्षिक रु १२ लाख आम्दानी गर्दै आएका छन् । उनले गाउँमा कृषिकर्मबाट स्वरोजगार बन्ने लक्ष्यसहित दुई वर्षअघि व्यावसायिक गाईपालन शुरु गरेका हुन् ।
ढुङ्गानाले फार्ममा अहिले ११ ओटा उन्नत जातका गाई र तीनओटा भैंसी रहेका बताउँदै सातओटा गाई दुहुना रहेका जानकारी दिए । उनका अनुसार दैनिक ५० लिटर दूध उत्पादन भइरहेको छ ।
‘घरमा पहिलेदेखि चार–पाँचओटा गाई नियमितरूपमा पालिन्थ्यो, दुई वर्षयता भने व्यावसायिक रूपमा ‘रामपुर फार्म’ दर्ता गरी गाईभैंसी थपेर व्यवसाय विस्तार गरेको हुँ,’ ढुङ्गानाले भने, ‘आगामी दिनमा पशुचौपाया थप गरेर फार्म आधुनिक बनाउने योजना छ, अहिले संरचना थप्ने कार्य हुँदैछ ।’


