काठमाडौँ । नेपाल र एडीबीबिच तीनवटा आयोजना र एक कार्यक्रम कार्यान्वयनका लागि १०५ अर्ब ५९ करोड बराबरको ऋण तथा अनुदान सम्झौता भएको छ । शुक्रबार सिंहदरबारस्थिति अर्थ मन्त्रालयमा नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी)बिच तीनवटा आयोजना र एक कार्यक्रम कार्यान्वयनका लागि ७७७.६ मिलियन अमेरिकी डलर (१०५ अर्ब ५९ करोड) बराबरको ऋण तथा अनुदान सम्झौता भएको हो ।
सम्झौता पत्रमा नेपालको तर्फबाट अर्थ मन्त्रालयमा सचिव डा. रामप्रसाद घिमिरे र एडीबीको तर्फबाट नेपाल निवासी नियोगका देश निर्देशक अर्मान्ड काउचोइसले हस्ताक्षर गरेका हुन् । नेपाल र एडीबीबिच सिँचाइ आधुनिकीकरण अभिवृद्धि परियोजना, हरियो, लचिलो र समावेशी विकास कार्यक्रम, काठमाडौँ उपत्यका खानेपानी सुधार परियोजना (फेज २), र दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग विद्युत् प्रसारण र वितरण सुदृढीकरण परियोजनाका लागि सम्झौता हस्ताक्षर भएको छ । काठमाडौँ उपत्यका खानेपानी सुधार परियोजना (फेज २), दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (एसएएसईसी) विद्युत् प्रसारण तथा वितरण सुदृढीकरण परियोजना र हरित, लचिलो र समावेशी विकास (ग्रिड) कार्यक्रम कार्यान्वयनका लागि पनि वित्तीय सम्झौतामा भएको छ ।


