काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा "इप्पान रजत जयन्ती, २०८१" विशेष कार्यक्रमसहित मनाउने तयारी गरेको छ। "इप्पान रजत जयन्ती: ऊर्जा समृद्धिको यात्रा" नारासहितको यो कार्यक्रम यही माघ ४ गते काठमाडौंको मेरियट होटलमा आयोजना हुनेछ। प्रधानमन्त्री, ऊर्जा मन्त्री, अर्थमन्त्री लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा आयोजना हुने कार्यक्रममा इप्पानले विगत २५ वर्षको योगदान र आगामी लक्ष्यबारे चर्चा गर्न तीनवटा प्राविधिक सत्रहरू समेत सञ्चालन गर्नेछ।
विसं २०५७ मा स्थापना भएको इप्पानले देशको ऊर्जा क्षेत्रमा निजी क्षेत्रको सहभागितालाई विस्तार गर्दै आर्थिक र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएको छ। इप्पानले हालसम्म कुल ३३०० मेगावाटमध्ये करिब ८० प्रतिशत अर्थात् २६०० मेगावाट विद्युत उत्पादन निजी क्षेत्रमार्फत गरेको छ। त्यस्तै, ४१०० मेगावाटका आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् भने ४३०० मेगावाटका आयोजनाहरूले विद्युत खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न गरेका छन्। संस्थाका अनुसार १२ हजार ५०० मेगावाट क्षमताका आयोजनाहरू पीपीएको पर्खाइमा छन् भने थप आयोजनाहरू अध्ययनको विभिन्न चरणमा छन्।
इप्पानले देशलाई लोडसेडिङमुक्त बनाउन योगदान पुर्याउँदै नेपाललाई ऊर्जा निर्यातकर्ता मुलुक बनाउने लक्ष्यमा काम गरिरहेको छ। निजी क्षेत्रको सक्रियतामा १५ खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ भने सरकारलाई वार्षिक अर्बौं रुपैयाँ रोयल्टी बुझाउँदै आएको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य र पूर्वाधारमा ठूलो लगानी गर्दै इप्पानले स्थानीयस्तरमा उल्लेखनीय काम गरिरहेको छ।
रजत जयन्तीका अवसरमा "ऊर्जा समृद्धि विशेष स्मारिका" प्रकाशन गरिनेछ, जसले इप्पानको विगत, वर्तमान र भविष्यको ऊर्जा यात्रालाई समेट्नेछ। यसका साथै, निबन्ध, छोटो वृत्तचित्र, र फोटो प्रतियोगिताहरू तथा रक्तदान, ईभी यात्रा, फुटसल र व्याडमिन्टन प्रतियोगिताहरू आयोजना गर्ने जनाएकाे छ। प्रतियोगिताहरूका विजेताहरूलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ।
इप्पानको २५ वर्षे यात्राले नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रको योगदान र नेतृत्वलाई अझ मजबुत बनाएको छ। रजत जयन्तीले विगतका उपलब्धिहरूलाई सम्मान गर्दै आगामी दिनमा ऊर्जा क्षेत्रमा थप नवीनता र विकासका लागि प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ।


