नेपाल बिद्युत प्राधिकरणलाई उच्च अदालत पाटनपछि नेपाल राष्ट्र बैंकबाट पनि 'नो' जवाफ पाएको छ। बक्यौता विवादमा परेका उद्योगका संचालक रहेका उद्योग व्यवसायको भुक्तानी नरोक्नलाई अदालतले आदेश दिएको केहि दिनमै नेपाल राष्ट्र बैंकले पनि बैंक खाता रोक्का राख्न अस्विकार गरेको हो।
राष्ट्र बैंकले नेपाल विद्युत प्राधिकरण (एनईए) को माग अस्वीकार गर्दै २८ उद्योगका बैंक खाता रोक्का नगर्ने निर्णय गरेको हो। विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले मंसिर ११ गते राष्ट्र बैंकलाई पत्र लेख्दै बक्यौता रकम असुल गर्न उद्योगका खाता रोक्का गर्न माग गरेका थिए। तर राष्ट्र बैंकले कानुनी आधार नपुगेको भन्दै सो कदम अस्वीकार गरेको हो।
राष्ट्र बैंकका अनुसार, “व्यक्तिगत खाता रोक्का गर्न सरकारी वा कानुनी निकायको आधिकारिक अनुरोध आवश्यक पर्छ। एनईएको मागलाई कानुनी रूपमा व्याख्या गर्न सकिने आधार छैन।”


