काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले आज फेरि ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । केन्द्रिय बैंकले २१ दिनका लागि निक्षेप संकलन बोलकबोल मार्फत ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो। रेमिटेन्समा आएको बढोत्तरीले बैंकिङ प्रणालीमा निरन्तर निक्षेप बढेपनि सोही अनुपातमा कर्जा लगानी हुन नसक्दा लामो समयदेखि बैंकिङ प्रणालीमा अधिक तरलताको समस्या रहदै आएको छ ।
केन्द्रीय बैंकले आज जारी गरेको निक्षेप संकलन उपकरणको दिउँसो २ बजे अनलाइन बोलकबोल हुने जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलनको बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।



