चालु आर्थिक वर्षका कात्तिकसम्ममा बैंकहरुले कुल २२ अर्ब २९ करोड रुपैयाँ नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याँक अनुसार अधिकाँश बैंकहरुले गत वर्षको यसै अवधिको तुलनामा नाफा बढाएका छन्।
गत आर्थिक वर्षको पहिला चार महिना अर्थात कात्तिकसम्ममा २० अर्ब ७३ करोड रुपैयाँ नाफा कमाएका बैंकहरुले गत वर्षको तुलनामा ७.५६ प्रतिशतलले नाफा बढाएका हुन्।
तथ्याँक अनुसार गत वर्षको तुलनामा चालु आर्थिक वर्षको कात्तिकसम्ममा १३ बैंकले नाफा बढाएका छन् भने ७ बैंकको नाफा घटेको छ।
यस अवधिमा लक्ष्मी सनराइज बैंकले सबैभन्दा धेरै १०७ प्रतिशतले नाफा बढाएको छ भने सिद्धार्थ बैंकले १०० प्रतिशतले नाफा बढाएको छ। यसैगरी कुमारी बैंक र नेपाल एसविआई बैंकको नाफा पनि ६० प्रतिशतले बढेको छ।
यता एनआइसी एशिया बैंकको भने नाफा सबैभन्दा धेरै ७१ प्रतिशतले घटेको छ भने राष्ट्रिय वाणिज्य बैंकको ५४ प्रतिशत र हिमालयन बैंकको ३९ प्रतिशतले घटेको छ।
चालु आर्थिक वर्षको पहिला ४ महिनाको तथ्याँक अनुसार नबिल बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ, नबिल बैंकले कुल २ अर्ब ६९ करोड रुपैयाँ नाफा कमाएको छ। यस्तै ग्लोबल आइएमई बैंक कुल २ अर्ब ११ करोड नाफा कमाएर दोस्रो स्थानमा छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा १ अर्ब ८२ करोड छ।



