४ महिनामा झन्डै ३६ हजार बीमा पोलिसी सरेन्डर, पौने ५ अर्ब बाहिरियो


  • Himalayan Bank Limited (HBL)
४ महिनामा झन्डै ३६ हजार बीमा पोलिसी सरेन्डर, पौने ५ अर्ब बाहिरियो

अर्थतन्त्र चलायमान नभएर व्यक्तिको आम्दानीमा विस्तारै गिरावट आउन थालेपछि त्यसको असर जीवन बीमा पोलिसीमा परेको छ । आम्दानी गिरावटसँगै जीवन बीमा पोलिसी सरेन्डर गर्नेको संख्या बढ्दै गएको छ ।

आर्थिक वर्ष २०८१/८२ को कात्तिक महिनासम्ममा जीवन बीमा कम्पनीहरुको ३५ हजार बढी पोलिसी सरेन्डर भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार कात्तिक महिनासम्ममा ३५ हजार ९८५ वटा पोलिसी सरेन्डरबापत् ४ अर्ब ८२ करोड ९७ लाख रुपैयाँ बीमा कोषबाट बाहिरिएको हो ।

जीवन बीमा पोलिसी लामो अवधिको हुन्छ। उक्त पोलिसीमा तोकिएको समय (त्रैमासिक/अर्धवार्षिक/वार्षिक) रुपमा केही रकम प्रिमियमस्वरुप तिर्नुपर्ने हुन्छ । आवधिक रुपमा पोलिसी तिर्न नसक्ने अवस्थामा बीमा गर्ने व्यक्तिले उक्त बीमालाई निरन्तरता नदिईकन बीचैमा बन्द गर्ने अवस्थालाई पोलिसी सरेन्डर भन्ने गरिन्छ । पोलिसी सरेन्डर गर्दा बिमितले पाउनुपर्ने रकमबाट केही प्रतिशत रकम बीमा कम्पनीले काटेर मात्रै बिमितलाई बाँकी रकम हस्तारन्तरण गर्ने गरिन्छ ।

बीमा पोलिसी सरेन्डर हुनु बीमा क्षेत्रको लागि नकारात्मक सूचक हो । पछिल्लो समय बीमा क्षेत्रमा अस्वस्थ प्रतिष्पर्धा, फोर्सफुल्ली बीमा पोलिसी खरिद, प्रलोभन लगायत गतिविधिका कारण बीमा पोलिसी सरेन्डरको दर बढ्दै गएको हो । बीमा एजेन्टले बीमाको सकारात्मक पक्षको बारेमा मात्रै बढाई चढाई वर्णन गर्ने र सकेसम्म धेरै रकमको बीमा गराउने परिपाटी छ । पहिलोपटक बीमा एजेन्टले पनि मोटो रकम कमिसनको रुपमा हात पार्ने गर्दछ । बीमासम्बन्धी जानकारहरुका अनुसार बीमा एजेन्टले आफ्नो आम्दानीको कति प्रतिशतसम्म बीमा प्रिमियममा खर्च गर्ने भन्ने बारे पर्याप्त जानकारी नदिँदा पछि बीमा प्रिमियम तिर्न नसकेर सरेन्डर गर्नेहरु बढेको बताउँछन ।

प्राप्त तथ्याङक अनुसार संचालनमा रहेका जीवन बीमा कम्पनीहरुमध्ये समिक्षा अवधिमा एलआइसी नेपालको पोलिसी सरेन्डर सर्वाधिक देखिएको छ । एलआइसी नेपालको १० हजार ४८ वटा पोलिसी बराबर १ अर्ब ५७ करोड ६६ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो ।

Read More