काठमाडौं, मंसिर २४ l उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच आज भेटवार्ता सम्पन्न भएको छ।
अर्थ मन्त्रालयमा आयोजित यो भेटवार्तामा आर्थिक सहयोग, एमसिसी (मिलेनियम च्यालेन्ज कर्पोरेशन) र युएसएआइडी (संयुक्त राज्य अन्तर्राष्ट्रिय विकास संस्था) अन्तर्गतका परियोजनाहरूको प्रभावकारी कार्यान्वयन, विकास वित्त, र निजी क्षेत्रको लगानी विस्तार जस्ता विषयमा गहन छलफल भएको थियो।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले नेपालको राजनीतिक स्थायित्वले आर्थिक समृद्धिलाई मुख्य प्राथमिकतामा राखेको र त्यसका लागि अमेरिकी सहयोगलाई अझै विस्तार गर्न आग्रह गर्नुभयो।
भेटवार्तामा अमेरिकी सहायक विदेशमन्त्री लुले दक्षिण एसियाका केही देशहरूले आर्थिक समस्या झेलिरहेको भए पनि नेपालले आर्थिक वृद्धि र स्थायित्व कायम गर्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले अमेरिका आगामी दिनमा नेपालमा थप आर्थिक सहयोग गर्न सकारात्मक रहेको जानकारी दिनुभयो।



