काठमाडौँ — राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको हुलाकी राजमार्ग निर्माण थालेको डेढ दशक भयो । कहिले पूरा हुने हो, अझै अन्योल छ । पर्याप्त बजेट अभाव र निकुञ्जका कारण आयोजना सम्पन्न हुने मिति लम्बिइरहेको छ । निर्माण सुरु भएको १५ वर्ष पुग्दा प्रगति ६७.५६ प्रतिशत मात्र छ ।
१६ अर्ब रुपैयाँ बराबरको पुल र सडकको ठेक्का गर्ने तयारीमा रहेको आयोजनाले उक्त बजेट नपाउँदा योजनाअनुसार काम अघि बढ्न सकेको छैन । चालु आर्थिक वर्षका लागि विनियोजित रकम गत आर्थिक वर्षको भुक्तानी दिँदैमा सकिएको हुलाकी राजमार्ग निर्देशनालयका आयोजना निर्देशक कुवेर नेपालीले बताए ।


